काठमाण्डु, १० पुस– उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन ।
संविधान संशोधनका लागि कांग्रेस, एमालेको कार्यदल बनिसकेको र कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको पनि उनले जानकारी दिएका छन ।
बुधबार रूपन्देहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन । सहरी विकासमन्त्री सिंहले भने, ‘कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ ।
सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधन प्रक्रिया अगाडि बढ्छ ।’ अर्को प्रसंगमा उपप्रधानमन्त्री सिंहले कोभिड महामारीका कारण प्रभावित भएको अर्थतन्त्रलाई नकास्न सरकारले काम गरिरहेको र अहिले सुधारका संकेत देखिन थालिसकेको बताएका छन ।
सियारी गाउँपालिकामा सियारी पर्यटन करिडोर शिलान्यास र दयानगर दानव लिफ्ट सिंचाइ योजना उदघाटन लगायतका कार्यक्रममा सहभागी हुन सिंह रुपन्देही पुगेका हुन् ।