काठमाण्डु, १० पुस– प्रहरीले कैलालीमा कथित बोक्सीको आरोप लगाउँदै महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई पक्राउ गरेको छ । कौलालीको भजनी नगरपालिका–१ गौनैयाकी २८ वर्षीया महिलालाई बोक्सी भन्दै निर्घात कुटपिट गर्ने गुरुवासहितका चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कौलालीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा भजनी नगरपालिका-१ का २८ वर्षीय मनोज चौधरी, ५१ वर्षीय बाबुराम चौधरी, ४५ वर्षीय लाहानु चौधरी र ३५ वर्षीय रुपा चौधरी रहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले जानकारी दिएका छन ।
२८ वर्षीया महिलामाथि बोक्सीको आरोपमा कुटपिट गरेको किटानी जाहेरी परेपछि चारै जनालाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरीएको उनले जानकारी दिएका छन ।
किटानी जाहेरी दिइएका मध्ये दुई जना फरार रहेकाले उनीहरुको खोजी जारी छ । पक्राउ परेका मध्ये मनोज चौधरी गुरुवा भएको प्रहरीले जानकारी दिएको छ ।
यही पुस ४ गते कुटपिटमा परेकी महिलाको धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।