काठमाण्डु, ९ पुस– नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मी र नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजदूत हस्मीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा दुई पक्षीय सम्बन्ध सहित व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन लगायतबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले पहल गरिरहेको समेत बताए ।
प्रधानमन्त्री ओलीले नेपालले ‘सबैसँग मित्रता र छैन कसैसँग शत्रुता’ भन्ने भावनाका साथ सार्वभौम र स्वतन्त्र मुलुकका हिसाबले न्यायोचित राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको बताए ।’ राजदूत हस्मीले पाकिस्तानामा सार्क शिखर सम्मेलन आयोजना गर्न तयार रहेको बताएका छन ।