काठमाण्डुले पोखरालाई ६ विकेटले हरायो

काठमाण्डु टुडे २०८१ मंसिर २९ गते १२:१९ मा प्रकाशित

काठमाण्डु, २९ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार भएको खेलमा स्टेफेन इस्किनाजीको अर्धशतक प्रेरित काठमान्डु गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ ।

इस्किनाजीले ६० रन बनाएपछि १३९ रनको लक्ष्य काठमाण्डुले १४.१ ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाउँदै पूरा गर्न सफल भएको हो । ६ खेलमा तेस्रो जित हात पारेको काठमाण्डुले प्लेअफ पुग्ने सम्भावना पनि कायम राखेको छ ।

६ खेलबाट ६ अंक जोडेको काठमाण्डु चौथो स्थानमा उक्लन सफल भएको हो । काठमाण्डुका ओपनर इस्किनाजीले ३४ बल खेल्दै १० चौका प्रहार गरे । माइकल लेभिटले १८ बलमा ३२ रन बनाए । यस्तै भिम शार्कीले २० बलमा २२ रन बनाउन सफल भए । बलिङमा पोखराका विपिन खत्रीले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए ।

माइकल लिस्कले १ विकेट लिन सफल भए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानम टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो । पोखराका लागि रेमोन रेइफरले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए । ३० बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे ।

यसैगरी ओपनर दिनेश खरेलले २५ बल खेल्दै ६ चौका र १ छक्का मदतमा ३८ रन बनाउन सफल भए । उनले रासिद खानको एकै ओभरमा लगातार चार चौका सहित १८ रन जोडेका थिए । तर त्यही ओभरको अन्तिम बलमा आउट भएका थिए । यस्तै दिलिप नाथले २४ बलमा २ छक्का मदतमा २७ रन बनाउन सफल भए ।

बलिङमा काठमाण्डुका कप्तान करण केसी र रासिख खानले ३–३ विकेट लिएका थिए । करणले ४ ओभरमा २४ र रासिदले ४ ओभरमा ४३ रन खर्चिएका थिए ।

जेर्राड एरसामस र माइकल लेभिटेले किफायती बलिङ गर्दै समान १ विकेट लिए । एरासमसले ४ ओभरमा १४ तथा लेभिटले ३ ओभरमा १३ रन खर्चिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us