चितवनमा रवि लामिछानेको दोस्रो दिनको बयान जारी

काठमाण्डु टुडे २०८१ मंसिर १९ गते १२:३२ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछानेविरुद्धको दोस्रो दिनको बयान सुरु भएको छ ।

सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको दोस्रो दिनको बयान सुरु भएको स्रोतले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले आज बयान सक्ने तयारी रहेको जानकारी दिएका छन । चितवनमा पनि सहकारी ठगीको उजुरी परेपछि लामिछानेलाई मंगलबार बिहान चितवन लगेर बयान लिइए पनि सकिएको थिएन ।

चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध गत मंसिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो ।गत कात्तिक २ गते काठमाण्डुबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो ।

त्यसपछि रुपन्देही र काठमाण्डुको बयान सकेर उनलाई मंगलबार चितवन लगिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us