
काठमाण्डु, १८ मंसिर– सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटा आफ्नो नातेदार नभएको दाबी गरेका छन् ।
सभामुख घिमिरेले सापकोटा आफ्नो नातेदार भएको भएको पुष्टि गर्न सो पार्टीका अध्यक्ष सिके राउतलाई चुनौती दिएका छन् ।
राउतले समानुपातिक सांसद सापकोटालाई हटाउन चार पटकसम्म पत्रचार गरे पनि सभामुख घिमिरेले अस्वीकार गर्दै आएका छन् । सभामुखले हटाउन नमानेपछि राउतले उनको राजीनामा माग गर्दै विज्ञप्ति जारी गरेका थिए ।
‘जनमत पार्टीलाई माननीय सापकोटा सम्माननीय सभामुखको नातेदार भएको भन्ने आरोप पुष्टि गर्न चुनौति दिन चाहन्छु’, सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सभामुख निर्वाचित भएकै दिन संसदको निष्पक्ष सञ्चालनका लागि राजनीतिक दलका सबै आवद्धता त्योको उल्लेख गर्दै राजनीतिक दल र सांसदहरूमा समान व्यवहारा प्रदर्शन गरिएको अधिकारीले बताएका छन् ।
संसदीय कार्यहरू संविधान, कानून, संसद नियमावली र अभ्यास बमोजिम सञ्चालन हुने भन्दै विज्ञप्तिमा सभामुखले गरेका निर्णय पनि त्यसबाहिर नभएको उनले उल्लेख गरे ।
सभामुखले संसदमा कुनै भाषा, भेषभूषाको प्रयोग सम्बन्धमा भेदभाव गरेको, विभेद गरेको, प्रस्ताव तथा समय प्रदान गर्दा संसदमा विभेद गरेको जस्ता आरोप अनर्गल, तथ्यहीन र काल्पनिक भएको पनि विज्ञप्तिमा छ ।