काठमाण्डु, १८ मंसिर- प्रतिनिधि सभाका सभामुख सरकारले आफ्नो आवश्यकतालाई हेरेर मात्रै कानुनमाथि छलफल गर्ने परिस्थितिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन ।
आज मंगलबार ललितपुरमा भएको सभामुखसहित समिति सभापतिहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन । सभामुख घिमिरेले संसद् कानुन बनाउने थलो भएपनि वर्तमान संसद्ले कानुन बनाउन नसकेको पनि बताएका छन ।
उनले संसदमा कानुन ल्याउँदा सरकारले आफ्नो आवश्यकता, अध्ययन, बुझाइबाट ल्याउने र त्यही आधारमा संसदमा छलफल गर्ने स्थिति रहेको भन्दै त्यसलाई अन्त्य गर्न जरुरी रहेको पनि बताएका छन ।
सभामुख घिमिरेले सरकारले कानुन उत्पत्ति गर्दै सांसदहरूको सहभागिता बनाउने प्रबन्ध गर्न आवश्यक रहेको बताएका छन । उनले आगामी संसद् अधिवेशन कहिले बोलाउने भन्ने विषय संसदहरुको भूमिकामा निर्भर हुने पनि बताएका छन ।
उनले अहिले सांसदहरू नै संसद् अधिवेशनको लागि तयार नदेखिएको बताएका छन । उनले समितिहरूले संसदमा पेस भएका विधेयकहरूलाई फुल हाउसमा लैजाने गरी तयारी गरी संसद् अधिवेशन छिटो बोलाउन दबाब दिन सक्नुपर्ने पनि बताएका छन ।
सभामुख घिमिरेले संसद्को गरिमा उच्च रहेको र सांसदको भूमिका महत्त्वपूर्ण रहेको भन्दै सांसदहरूले संसद्लाई कम ठानेर नलाग्न संसदहरुलाई आग्रह समेत गरेका छन ।