काठमाण्डु, १७ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान अन्तिम चरणमा पुगेको छ ।
आज (सोमबार) सक्नेगरी लामिछानेको बयान चलिरहेको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डुका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिएका छन । प्रहरीले शुक्रबारबाटै उनको बयान लिइरहेको छ ।
तर, नसकिएपछि सोमबार पनि सरकारी वकिलको कार्यालयमा लगेको थियो । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले लामिछानेविरुद्ध पक्राउ अनुमति लिएको थियो ।
त्यसअनुसार, लामिछानेलाई १३ मंसिरमा काठमाण्डुमा ल्याइएको थियो । कास्की प्रहरीको हिरासतबाट काठमाण्डु ल्याएर उनीमाथि बयान लिइएको हो । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र जिबी राईको नाममा दुई पटक गरेर ४६/४६ लाख रुपैयाँ ऋण गएको अनुसन्धानबाट खुलेको छ ।
लामिछाने चढ्ने गाडी खरिदका लागि यो ऋण लिएको पाइएको थियो । बयानपछि लामिछानेलाई फेरि प्रहरीले पोखरा लैजानेछ । सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको थियो ।