काठमाण्डु, १५ मंसिर–निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा काँगेस र एमालेका कीर्तिपुर नगरपालिका प्रमुखका उम्मेदवारविरुद्ध उजुरी परेको छ ।
काँग्रेस उम्मेदवार कृष्णमान डंगोल र एमाले उम्मेदवार सुरेन्द्र मानन्धरविरुद्ध जिल्ला निर्वाचन कार्यालयमा उजुरी गरेको हो ।
उजुरीकर्ता हिराबहादुर महर्जनले काँग्रेस उम्मेदवार डंगोलले कीर्तिपुर–७ इट्टागोलस्थित बेकरी एण्ड बेकरी रेष्टुरेण्ट र एमाले उम्मदवार मानन्धरले र्कीर्तिपुर–१० सिंहदबुस्थित जेसिननी हेरिटेज रेष्टुरेण्टमा मतदाता प्रभावित तुल्याउन भोजभतेर आयोजना गरेको आरोप लगाएका छन् । उजुर्रीकर्ता सोही नगरपालिका–१० का मतदाता हुन् ।
‘निर्वाचन प्रचार–प्रसारको अवधि नै समाप्त भई मौन अवधि चलिरहेको अवस्थामा तपशीलका राजनीतिक दल र उम्मेदवारले तपशीलका स्थानमा निर्वाचन आचारसंहिता तथा निर्वाचन ऐनविपरीत ठूलो मतदाताको समूह जुटाई भोज भतेर खुवाई मतदाता मतदाता प्रभावित तुल्याउने कार्य गरेको प्रमाण फेला परेकोले आवश्यक कारबाही गरिपाउँ’, महर्जनले उजुरीमा लेखेका छन् ।
कीर्तिपुरसहित देशका विभिन्न स्थानमा रिक्त ४४ पदका लागि आगामी १६ मंसिरमा उपनिर्वचन हुँदैछ । निर्वाचनको ४८ घण्टाअघि मौन अवधि सुरु हुन्छ ।
बिहीबार राति १२ बजेबाट निर्वाचन प्रचार–प्रसा, सभा, सम्मेलन, जुलुस जस्ता निर्वाचनसम्बन्धी कुनै गतिविधि नगर्न निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दलहरुलाई सचेत गराएको छ ।
उजुरीमाथि अनुसन्धान भइरहेको जिल्ला निर्वाबचन कार्यालय काठमाण्डुले जनाएको छ ।