काठमाण्डु, १५ मंसिर– आफ्नो परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सोमबार बाला चतुर्दशी पर्व मनाइदै छ ।
बाला चतुर्दशीको अवसरमा काठमाण्डुको पशुपति नाथ लगायतका शिवालयहरुमा सतबिज छर्नेहरुको घुइँचो लागेको छ ।
शतबीज छर्नुअघि हिजो साँझ उनीहरुले पितृको सम्झनामा दीप तथा महादीप बालेर रातभर जाग्राम बसेका थिए ।
धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोसहित सात प्रकारका बीऊलाई सतबीज भनिन्छ । सतबिजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला, मुला, हलेदो आदि मौसमी फल र विभिन्न किसिमका फूलसमेत मिसाइन्छ ।
आज सतबीज छर्नाले पितृको उद्धार हुने तथा मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने र पूण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
सतविज १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरुप र किराँतेश्वरीमा छर्ने गरिन्छ ।
सतविज छर्न मुलुकका विभिन्न स्थानबाट पशुपतिनाथ मन्दिर परिसरमा शुक्रबारै आएर रातभर जाग्राम बसेका थिए ।
त्यस्तै तनहुँ र चितवनको संगमस्थल देवघाट र नवलपरासीको त्रिवेणीमा सतबीज छर्नेको विहानैबाट घुईचो लागेको छ ।