सांसद सापकोटाद्वारा जाकार्तामा आयोजित ग्रीन इनर्जी सम्मेलनलाई सम्बोधन

काठमाण्डु टुडे २०८१ मंसिर १४ गते १९:२३ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपालले जलविद्युत् परियोजनामार्फत् क्षेत्रीय साझेदारीलाई थप सुदृढ पार्दै दिगो विकास र जलवायु संकटका चुनौतीहरूसँग जुध्न योगदान गरिरहेको बताएका छन् ।

इन्डोनेसियाको राजधानी जाकार्तामा जारी ‘ग्रीन साउथ एलायन्स इनर्जी ट्रान्जिसन सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलका तर्फबाट सम्बोधन गर्दै सापकोटाले नेपालको जलवायु नेतृत्व, ऊर्जा रूपान्तरण र क्षेत्रीय सहकार्यका विषयमा धारणा व्यक्त गरे ।

‘पार्लियामेन्टेरियन ग्रुप अफ क्लिन एयर’ ९पिजिसिए० का लागि अन्तर्राष्ट्रिय संसदीय समूहको नेपाल च्याप्टरका सह–अध्यक्ष समेत रहेका सांसद सापकोटाले नेपालले जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न गरेको प्रतिबद्धता, स्वच्छ ऊर्जा उत्पादनको महत्वाकांक्षा र क्षेत्रीय सहकार्यका सम्भावनाहरूको चर्चा गरेका थिए ।

नेपालले सन् २०५० सम्म शून्य कार्बन उत्सर्जन गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै उनले जलवायु अनुकूलन रणनीतिले स्थानीयस्तरमा समुदायलाई सशक्त बनाउँदै दिगो विकासको बाटोमा अघि बढ्न प्रेरित गरेको बताए ।

नेपालका ६ हजार बढी नदीहरूमा वार्षिक २ सय २० अर्ब घनमिटर पानी प्रवाह गर्ने क्षमता रहेको बताउँदै सापकोटाले सन् २०३५ सम्म २८ हजार मेगावाटभन्दा बढी स्वच्छ ऊर्जा उत्पादनको लक्ष्य रहेको जानकारी गराए ।

सापकोटाले स्वदेशमा प्रयोग गरेर बढी भएको बिजुली छिमेकी राष्ट्रहरूमा समेत निर्यात थालिएको बताए ।

भारतमा १० हजार मेगावाट र बंगलादेशमा तत्कालका लागि ५० मेगावाट विद्युत निर्यात गर्ने सम्बन्धी सम्झौता भइसकेको उनको भनाइ थियो।

नेपालको जलविद्युत् विकासले क्षेत्रीय ऊर्जा साझेदारीलाई सुदृढ बनाइरहेको उनको भनाइ थियो ।

जलविद्युत परियोजनाहरूले रोजगारी सिर्जना गर्ने, पूर्वाधार विकास गर्ने र समतामूलक विकासलाई सहयोग गर्ने चर्चा पनि उनले गरे ।

ऊर्जा रूपान्तरण प्राविधिक चुनौती मात्र नभई यो समावेशी र दिगो भविष्य सुनिश्चित गर्ने अवसर समेत भएको विचार उनले व्यक्त गरे ।

दक्षिण र दक्षिणपूर्व एसियामा स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न आधुनिक प्रविधि, प्राविधिक विशेषज्ञता र वित्तीय स्रोतको सहज पहुँचको आवश्यकतामाथि उनले जोड दिए ।

ऊर्जा रूपान्तरण प्रक्रियामा साना देशहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले सहकार्यका लागि आह्वान गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us