पैसा नदिए उडाइदिन्छु भन्ने धम्की आयोः मन्त्री लेखी

काठमाण्डु टुडे २०८१ मंसिर १४ गते १९:०१ मा प्रकाशित

जनकपुर,१४ मंसिर–एमाले नेता एवं मधेस सरकारका गृह सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले आफूलाई भूमिगत सशस्त्र समूहले रकम माग गर्दै धम्की दिएको बताएका छन् ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चाले रकम मागेर धम्की दिइरहेको बताए । पत्रकार सम्मेलनमा लेखीले बताएअनुसार उनलाई गत १२ मंसिरमा भारतीय नम्बरको ह्वाटसएपबाट फोन आएको थियो ।

‘भारतीय नम्बरको ह्वाटस एपबाट फोन गरेर पैसा नदिए ‘उडाइदिने’ धम्की आयो’, लेखीले भने । उनले गोइत आफैंले फोन गरेको समेत दाबी गरे । तीनपटकसम्म फोन आएपछि आफूले पत्रकार सम्मेलन गरेको उनको भनाइ थियो ।

आफूले धम्कीबारे मुख्यमन्त्री सतिशकुमार सिंह र प्रहरीलाई जानकारी गराएको लेखीले बताए । उनका अनुसार पैसा मागेर अरु मन्त्रीलाई पनि धम्की आउने गरेको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी लालमणि आचार्यले लेखीले प्रहरीको माथिल्लो नेतृत्वलाई जानकारी गराएपछि आफूले थाहा पाएको र त्यसबारे अध्ययन भइरहेको बताए ।

आचार्यका अनुसार लेखीले आफ्ना छिमेकीसमेत रहेका मन्त्री लेखीलाई फोन गरी बिरामी भएको र उपचार खर्च नभएकाले रकम मागेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us