काठमाण्डु, १४ मंसिर– अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक –असई) ले आफैंमाथि गोली प्रहार गरेका छन ।
आछामको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैंमाथि गोली प्रहार गरेको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिएका छन ।
चन्दले आफैंले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा प्रहार गरेको उनले जानकारी दिएका छन । चन्दले बिहीबार राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैंमाथि गोली प्रहार गरेको पाइएको डीएसपी भण्डारीले पुष्टि गरे ।
चन्दको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको भण्डारीले जानकारी दिएका छन । मेडिकल कलेजमा उपचाररत चन्द बोल्न सक्ने अवस्थामा रहेका छन् ।
घटनाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
चन्दले गोली प्रहार गर्नुको कारण नखुलेको बताउँदै डीएसपी भण्डारीले छानबिन समितिले अध्ययन गरेपछि धेरै कुरा खुल्ने जानकारी दिएका छन ।