काठमाण्डु, १४ मंसिर–काँग्रेस उपसभापति धनराज गुरुङ संलग्न भनिएको सहकारी ठगी प्रकरण छानबिनमा संलग्न एक प्रहरी अधिकृतको हठात सरुवा भएको छ ।
गुरुङको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले छानबिन गरिरहेको छ । सिआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमाललाई सरुवा गरिएको हो । हमाल सिआइबीको २ नम्बर पिलरमा कार्यरत थिए ।
उक्त पिलरaले आर्थिक अपराधसम्बन्धी अनुसन्धान गर्छ । हमालको जिल्ला प्रहरी कार्यालय धादिङमा सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सामान्यतयाः डिएसपीको सरुवा एक वर्षमा हुन्छ ।
हमाल त्यहाँ गएको ८ महिना मात्र पूरा भएको थियो । सिआइबीका प्राविधिक एसपी पशुपति राय र अर्का डिएसपी पुरुषोत्तम कार्कीलाई पनि सरुवा गरिएको छ ।
धनराज गुरुङ र उनकी पत्नी ज्योतिविरुद्ध ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको बचत अपचलनविरुद्ध संस्थाका पदाधिकारीले सिआईबीमा उजुरी दिएका थिए ।
श्रोतका अनुसार सरकारको नेतृत्वले चाहेअनुसार अनुसन्धान नगरेको आरोपमा हमाललाई हटाइएको हो ।
एमाले सांसद सूर्य थापा नेतृत्वको सहकारी छानबिन विशेष समितिले गुरुङमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरे पनि सत्तारुढ दलको सांसद भएकै कारण उन्मुक्ति पाएको आरोप लाग्दै आएको छ ।