काठमाण्डु, १३ मंसिर– एमाले महासचिव शङ्कर पोखरेलले जनताबाट पराजितहरुको शासन अन्त्य नभएसम्म मुलुक नबन्ने जिकिर गरेका छन् ।
कीर्तिपुरमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले मुलुक बन्न नसक्नुको प्रमुख कारण राजनीतिक अस्थिरता भएको बताए ।
भारतमा राजनीतिक स्थिरताका कारण तीव्र विकास भएको र नेपाल पछि परेको तर्क उनको थियो ।
पोखरेलले नेपालमा धेरै राजनीतिक दल नचाहिने भन्दै ३२ सिटले म्याजिक नम्बर भन्दै शासन चलाउने युगको अन्त्य हुनुपर्ने बताए ।
‘३२ सिटले म्याजिक नम्बर भन्दै जनताले अस्वीकार गरेकाहरूले शासन चलाउने युगको अन्त्य गर्नुपर्छ, पोखरेलले भने, ‘ बलिया शक्तिले देशको नेतृत्व गर्नुपर्छ ।’
अरुमाथि पराजितको शासन अस्वीकार गर्नुपर्ने बताएका पोखरेल आफैं भने ०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा माओवादीकी रेखा शर्मासँग पराजित भएका थिए ।
उनले राजनीतिमा नयाँपुस्ता अउनुपर्ने पनि बताए । पोखरेलले एमाले सरकारमा छँदा युवा पलायन घट्ने र अरु हुँदा बढ्ने गरेको मिथ्यांक प्रस्तुत गरे । पोखरेलले जनतामा व्याप्त निराशा अन्त्य गरेर आशा जगाउने काम एमालेले मात्र गर्न सक्ने पनि जिकिर गरे ।
कीर्तिपुरको स्थानीय निर्वाचन जितेर एमाले नेतृत्वमाथि लगाइएका अफवाह चिर्न उनले कार्यकर्तालाई निर्देशन दिए । एमालेले १६ मंसिरमा हुने उपनिर्वाचनका लागि सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ ।