काठमाण्डु, १३ मंसिर– कांग्रेस महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हप्ताको एकपटक प्रधानमन्त्री बन्नका लागि काँग्रेस नेतृत्वलाई खबर पठाउने गरेको बताएका छन् ।
कीर्तिपुरमा बिहीबार आयोजित चुनावी सभामा बोल्दै उनले काँग्रेस प्रधानमन्त्रीका लागि नहतारिएको जिकिर गरे । काँग्रेस र एमालेबीच गत १७ असारमा भएको सहमतिअनुसार आफूहरु सरकारलाई तलमाथि नगर्ने पक्षमा रहेको उनको भनाइ थियो ।
‘अहिले पनि प्रचण्डले हप्तामा एकपटक कांग्रेसलाई खबर पठाउनुहुन्छ, लौ न प्रधानमन्त्री बनिदिनुपर्यो भनेर । यो खबर पठाउने काम पहिले अर्कैले गर्थ्यो । सरकार तलमाथि गर्ने हो भने संख्या कांग्रेससँग नै छ । तर कांग्रेसले हिजो प्रचण्डलाई प्रधानमन्त्री मान्यो, आज कांग्रेस केपी ओलीलाई प्रधानमन्त्री मानिरहेको छ’, थापाले भने ।
उनले काँग्रेस संसदको ठूलो दल भए पनि प्रधानमन्त्री बन्न नआउने भएर सरकारको नेतृत्व नगरेको होइन भन्ने अभिव्यक्ति दिए ।
थापाले आफूहरु बेरोजगारी र गरिबीका साथै सबै प्रकारका ठग र चटकेहरुसँग लड्न उद्धत रहेको बताए । उनले काँग्रेसको रुखमुनि बसेको छ भने पनि ठगलाई तानेर जेलमा लैजाने जिम्मेवारी आफूहरुको भएको तर्क गरे ।
‘सहकारी ठग्ने होस् कि मान्छेलाई झुक्याएर विदेश लैजाने मानिस होस् जतिसुकै शक्तिशाली र जुनसुकै पार्टीको होस् आज बच्ला भोलि बच्दैन, हामी छौं’, उनले भने ।