काठमाण्डु, १३ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको बताएका छन ।
आज (बिहिबार) नेकपा माओवादीले कीर्तिपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।
उनले अहिले सरकारको नेतृत्व गरिरहेकाहरूमा नै भ्रष्टाचारको तिर सोझिएपछि अप्राकृतिक ढंगबाट सरकार बन्न पुगेको दाबी गरे ।
अध्यक्ष प्रचण्डले भने, ‘भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो । त्यो अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो। सिधा, सरल छ ।
यहाँ घुमाएर गर्नुपर्ने कुरा छैन, ‘बेचन झा र प्रतिक थापा पक्राउ परेपछि फरार अभियुक्त गिरफ्तार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ ।’
उनले संविधानको धारा ७६ (२) अनुसारको सरकारले विश्वासको मत पाएपछि स्वतः उपधारा (३) मा जानुपर्ने तर्क गर्दै अहिलेको सरकार संविधान विरोधी भएको आरोप लगाए ।
उनले थपे, ‘यो सरकार संविधान मिचेर बनेको सरकार हो । ७६ को २ अनुसारको सरकारले विश्वासको मत नपाएपछि स्वतः ३ मा जानुपर्ने ठाउँमा फेरि २ मै फर्किएर बनाउनु संविधान विरोधी छ । यो अप्राकृतिक छ ।’