यो उपनिर्वाचन ०८४ को लागि आँखीझ्याल बन्नेछ: प्रचण्ड

काठमाण्डु टुडे २०८१ मंसिर १३ गते १७:१४ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी १६ मंसिरमा देश भर हुने स्थानीय तहको उपनिर्वाचन ०८४ को निर्वाचनका लागि आँखिझ्याल बन्ने बताएका छन ।

आज बिहिबार नेकपा माओवादी केन्द्रले कीर्तिपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावबारे बोल्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपनचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ । यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ ।’

साथै, उनले कोही कसैको पनि डर, धाक, प्रलोभन र लोभमा नफसि विकास निर्माणको अभियानमा अघि बढ्न आग्रह समेत गरेका छन । अध्यक्ष प्रचण्डले थपे, ‘हामी कसैको डर, धाक, प्रलोभन, लोभ लाचनमा नफसिकन एकचोटी विकास निर्माणको नयाँ अभियानमा अघि बढ्ने अवसर हामीसँग छ ।

कीर्तिपुरले फेरि एउटा रेकर्ड बनाउनेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु,’ प्रचण्डले भने । कीर्तिपुरका सांस्कृतिक पर्वहरू, सांस्कृतिक झांकी, बाजागाजाको संरक्षण र संवद्र्धन गर्ने जिम्मेवारी आफूहरूको काँधमा रहेको जिकिर गरे ।

‘यहाँका सबै सांस्कृतिक पर्वहरू, सांस्कृतिक झांकी, बाजागाजा यी सबै पनि कीर्तिपुरका मौलिक छन् । यसको संरक्षण र संवद्र्धन गर्ने जिम्मेवारी हाम्रो काँधमा छ,’ प्रचण्डको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us