काठमाण्डु, १३ मंसिर– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रको मागअनुसार उद्योगसँग सम्बन्धित ऐन कानुन र नीतिहरू लगानीमैत्री बनाउने बताएका छन ।
आज बिहिबार राजधानी काठमाण्डुमा भएको एक कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन । मन्त्री भण्डारीले सरकार निजी क्षेत्रको मनोबललाई उच्च बनाउँदै अर्थतन्त्रमा सुधार तथा आन्तरिक तथा बाह्य लगानीको वातावरण बनाउने प्रयास गरिरहेको पनि बताएका छन ।
मन्त्री भण्डारीले सरकारले अहिले उद्योग वाणिज्य मन्त्रालयसँग सम्बन्धी कम्पनी ऐन, औद्योगिक व्यवसायी ऐन, बौद्धिक सम्पत्ति ऐन, खानी तथा खनिजसम्बन्धी ऐन, विशेष आर्थिक क्षेत्र ऐन, जग्गा प्राप्ति सम्बन्धी ऐन, सार्वजनिक खरिद ऐन र वन तथा वातावरण ऐनलाई परिमार्जन गर्ने तयारीमा रहेको बताए ।
उनले यी ऐनहरूमा निजी क्षेत्रको सुझावको आधारमा परिमार्जन गर्नुपर्ने विषयलाई परिमार्जन गर्न सरकार तयार रहेको पनि बताएका छन । मन्त्री भण्डारीले नीति ऐन, कानुनमा रहेका समस्याको विषयमा निजी क्षेत्रले दिएका सुझावको आधारमा नीति निर्माण गरिने बताए । उनले आन्तरिक तथा बाह्य लगानीको लागि रहेका हडल्सहरुलाई सरकारले तत्काल समाधान गरी अगाडि बढ्ने बताए ।
उनले स्वदेशी लगानीलाई उत्साहित मनोबलका साथमा अगाडि बढ्ने बताएका छन । उनले निजी क्षेत्रले सरकारसँग राखेको अपेक्षा नीति, ऐन कानुन र सेवा प्रवाहको सहुलियतका विषयमा सरकार सकारात्मक रहेको पनि बताएका छन ।