काठमाण्डु, १३ मंसिर– राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष ०८०–०८१ को १६ औँ वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले बिहीबार प्रधानमन्त्री ओलीसमक्ष प्रतिवेदन पेस गरेका हुन् । उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत् सङ्घीय संसदमा प्रस्तुत गरिने व्यवस्था रहेको छ ।
सोही अवसरमा आयोगको वर्तमान नेतृत्वको पाँच वर्षे कार्यकालमा भएका ‘महत्वपूर्ण आदेश सङ्ग्रह’ को प्रधानमन्त्री ओलीबाट सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री ओलीले सूचनाको हकलाई वास्तविक हकका रुपमा स्थापित गर्दै सरोकार पक्षलाई आवश्यक सूचना दिने काममा सरकार र आयोगबीच सहकार्य हुनुपर्ने बताएका छन ।
साथै उनले लोकतन्त्रका पक्षमा सक्दो कार्यान्वयन गर्दै अराजकतालाई भने निरुत्साहन गर्नुपर्नेमा जोड दिए । प्रमुख आयुक्त गुरुङले आफूहरुको पाँच वर्षको कार्यकालमा पाँच हजार एक सय ८२ पुनरावेदन प्राप्त भएकामा ९५ प्रतिशत फर्स्योट गरिएको जानकारी गराए ।