आचारसंहिता विपरीत चुनाव प्रचारमा हिँडेको भन्दै एमाले सांसद सवार गाडी नियन्त्रणमा

काठमाण्डु टुडे २०८१ मंसिर १३ गते १३:२४ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– कपिलवस्तुको शुद्धोदन गाउँपालिका– मा १ हुने उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको भन्दै प्रदेश सांसद एवं नेकपा एमाले नेताहरू सवार सरकारी गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका छन ।

आज बिहीबार उक्त वडाको पतरियामा लुम्बिनी प्रदेशसभाको विषेशाधिकार समिति सभापति गिरिधारीलाल न्यौपानेले प्रयोग गर्ने बा १२९७ नम्बरको गाडी स्थानीयले नियन्त्रणमा लिएका हुन ।

उक्त गाडीमा प्रदेशसभा सदस्य न्यौपाने, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष झविलाल पोखरेल लगायत नेताहरू सवार थिए । वडाध्यक्षका उम्मेदवार मोहमद ताहिर मुसलमानको पक्षमा मत माग्दै गरेको अवस्थामा नियन्त्रण लिएर प्रहरीको जिम्मा लगाएको मानव अधिकारकर्मीसमेत रहेका स्थानीय रबी ठाकुरले जानकारी दिएका छन ।

सहायक निर्वाचन अधिकृत अमर ओलीले स्थानीयले गाडी नियन्त्रणमा लिएको भन्ने सूचना पाएपछि प्रहरी पठाएको जानकारी दिएका छन । गाडी नियन्त्रमा लिएपछि माओवादी केन्द्र र जसपाका समर्थकले नाराबाजी गरेका पनि उनले जानकारी दिएका छन । निर्वाचन आयोगले गएराति १२ बजेबाट लागू हुनेगरी निर्वाचन आचारसंहिता जारी गरीसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us