काठमाण्डु, १२ मंसिर– सट्टेबाजी (जुवा) खेलाएको आरोपमा प्रहरीको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–४ अफलटोल बस्ने ३७ वर्षीय सुनिल राई छन् ।
एसपी आचार्यका अनुसार पक्राउ परेका राईले बेटिङ गेम खेलाउने तथा क्रिप्टोको कारोबार गर्ने गरेको पाइएको बताए ।
राईले बैंक र इसेवा आइडीलगायतबाट ५५ करोड २० लाख ८४ हजारभन्दा बढी कारोबार गरेको देखिएको आचार्यको भनाइ थियो ।
राईको साथबाट ११ वटा नागरिकता, १५ वटा राहदानी, २२ वटा चेकबुक, ४२ वटा एटिएम बरामद गरिएको छ ।
राईमाथि प्रहरीले मुलुकी अपराध संहित २०७४को परिच्छेद ५ को दफा १२५ अनुसार जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र दफा २६२ (क) १ को अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
राईलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ ।