स्वामीकार्तिक गाउँपालिका उपाध्यक्षमा एमाले–माओवादी तालमेल

काठमाण्डु टुडे २०८१ मंसिर १२ गते १८:५४ मा प्रकाशित

बाजुरा, १२ मंसिर– बाजुराको स्वामीकार्तिक गाउँपालिका उपाध्यक्षमा माओवादी र एमालेबीच तालमेल भएको छ ।

१६ मंसिरमा हुने उपनिर्वाचनका लागि माओवादीबाट राजुकुमारी विकले उम्मेदवारी दिएकी थिइन् । विकले उम्मेदवारी फिर्ता लिएर एमाले उम्मेदवार सुलोचना भण्डारी बुढालाई समर्थन गरेकी छन् ।

विक उम्मेदवारी फिर्ता लिएर भण्डारीको चुनाव प्रचारमा समेत हिंडेकी छन् । योसँगै उक्त पालिकामा उपाध्यक्ष पदका लागि कांग्रेस, एमाले र एकीकृत समाजवादीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

एमाले र माओवादी गाउँपालिका कमिटीबीच तालमेलको सहमति भएको हो । सहमतिमा आगामी ०८४ मा हुने निर्वाचनमा उपाध्यक्ष र एक वडा अध्यक्षमा एमालेले माओवादीलाई समर्थन गर्ने उल्लेख छ ।

यसैबीच उक्त सहमतिप्रति माओवादी केन्द्र बाजुराले भने आपत्ति जनाएको छ । माओवादी बाजुरा संयोजक देवीचन्द्र बुढाले विकले पार्टी नीतिविपरीत उम्मेदवारी फिर्ता लिएको भन्दै आपत्ति जनाएका छन् ।

२०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा काँग्रेसबाट निर्वाचित उपाध्यक्ष मैना जोशीको ४ माघ २०८० मा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

यसैबीच राप्रपा उम्मेदवार सुनादेवी थापा धामीले पनि उम्मेदवारी फिर्ता लिएर एमाले उम्मेदवार भण्डारीलाई समर्थन गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us