काठमाण्डु, १२ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्थाको विकल्प खोज्ने बेला आएको जिकिर गरेका छन् ।
बुधबार काठमाण्डुको कीर्तिपुरमा पार्टीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले उक्त दाबी गरेका हुन् ।
विकल्प खोज्ने बेला आएको भन्दै उनले एकपटक मन र मत परिवर्तन गर्न मतदातालाई आग्रह गरे ।
फरक प्रसंगमा उनले मुलुकमा भ्रष्टाचार र बेथिति बढेको बताए । भ्रष्टाचार ढाकछोप गर्न र दोषीलाई उन्मुक्ति दिन प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएको आरोपसमेत लगाए ।
आगामी १६ कात्तिकमा हुने उपनिर्वाचनका लागि राप्रपाले कीर्तिपुरको मेयर पदमा ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ ।
उनले कीर्तिपुरमा जित्न पाए राप्रपाले कस्तो देश बनाउन चाहेको रहेछ भन्ने सन्देश दिने बताए । उनले गत निर्वाचनमा राप्रपाले कमै मात्र स्थानीय तह जितेको उल्लेख गरे ।
राप्रपाले जितेको ठाउँमा कस्तो काम गर्छ भन्ने हेर्न आफ्नो गृहजिल्ला झापास्थित हल्दीबारी गाउँपालिका भ्रमण गर्न उनले आग्रह गरे ।