सबै मिलेर नेवारी संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ मंसिर १२ गते १३:३३ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मिलेर नेवारी संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताएका छन ।

आज (बुधबार) २१औं राष्ट्रिय ज्यापु दिवसका लागि निमन्त्रणा दिन पुगेको टोली समक्ष प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले नेवारी संस्कृति नेपाली संस्कृतिको पहिचान दिने मौलिक, उन्नत र परिस्कृत तथा इतिहास बोकेको संस्कृति भएकोले सबै मिलेर संरक्षण र प्रवर्द्धन गर्नुपर्ने पनि बताएका छन ।

प्रधानमन्त्री ओलीले ज्यापु गुठीका लागि अक्षयकोषमा सक्दो रकमवृद्धि गर्न सरकारले सहयोग गर्ने पनि बताएका छन ।

सांसद कृष्णगोपाल श्रेष्ठ, ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनसहितको टोली नेवारी बाजागाजा सहित प्रधानमन्त्रीलाई निम्तो दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको थियो ।

यस वर्षको ज्यापु दिवस तथा योमरी पुन्ही ३० मंसिरमा मनाइनेछ । उक्त दिन काठमाण्डुमा र्यालीसहित वसन्तपुरमा कार्यक्रम आयोजना तय गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us