काठमाण्डु, १२ मंसिर– प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको लोभ देखाएर ठगेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरूमा मकनवानपुरको बकैया गाउँपालिका–५ घर भइ काठमाण्डुको नागार्जुन नगरपालिका–५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्ण कुमार बल र सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ घर भइ काठमाडौंको टोखा नगरपालिका–८ बस्ने २८ वर्षीया मनिषा कुमारी रहेको प्रहरीले जानकारी दिएको छ ।
सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट १५ लाख रूपैयाँ र मनिषाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४५ हजार रूपैयाँ लिई ठगी गरेको आरोप रहेको प्रहरीले जानकारी दिएको छ ।
रकम लिएपछि सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले सुवर्णलाई काठमाण्डुको बाफलबाट सोमबार र मनिषालाई नयाँबसपार्कबाट मंगलबार पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाण्डु पठाइएको प्रहरीले जानकारी दिएको छ ।