काठमाण्डु, १२ मंसिर– प्रधानमन्त्री केपी ओलीले मन्त्री र सचिवहरुको संयुक्त बैठक बोलाएका छन् ।
प्रथम त्रैमासिक समीक्षाका नाममा ओलीले सबै मन्त्री र सचिवहरुलाई राखेर बैठक गर्न लागेका हुन् ।
नेकपाकालमा प्रधानमन्त्री भएका बेला मन्त्रालयको राजनीतिक नेतृत्वलाई बाइपास गरेर सिधै बालुवाटारबाट प्रशासनिक संयन्त्र चलाएको भन्दै ओलीको चर्को आलोचना भएको थियो ।
पछिल्लोपटक काँगेससँगको गठबन्धन सरकारको नेतृत्व गरिरहेका ओलीले एकपटक मन्त्री र सचिवहरुसँग सामूहिक बैठक गरिसकेका छन् ।
आज अपराह्न तीन बजेका लागि मन्त्री र सचिवहरुको संयुक्त बैठक डाकिएको ओलीको सचिवालयले जनाएको छ ।
‘के निर्णय गर्नुपर्ने हो, के आदेश दिनुपर्ने हो मन्त्रीलाई दिनुपर्नेमा सचिवहरुसमेत राखेर लामो मन्तव्य दिने उहाँको शैली रहेछ’, काँग्रेसका एक मन्त्रीले भने, ‘मन्त्रीलाई प्रधानमन्त्री र सचिवहरुलाई मुख्यसचिवले चलाउनुपर्ने हो । उहाँ (ओली) को त आफैं सबैलाई चलाउने शैली रहेछ ।’
ओलीको कार्यशैलीका कारण सचिवसहित मन्त्रालयको प्रशासनिक संयन्त्र मन्त्रीप्रति नभई प्रधानमन्त्रीप्रति उत्तरदायी हुने हुँदा काम गर्न अप्ठेरो हुने गरेको गुनासो ती मन्त्रीले गरे ।