काठमाण्डु, ११ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका आफ्ना सभापति रवि लामिछानेलाई थुनाभित्र राखेर बारको खाली ठाउँबाट भाला हान्ने काम भइरहेको आरोप लगाएको छ ।
वनस्थली चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै कार्यवाहक प्रवक्ता मनिष झाले उक्त टिप्पणी गरेका हुन् । ‘सभापतिज्यूलाई थुनाभित्र राखेर बारको बीचबीचबाट भाला हानेजस्तै लागिरहेको छ । भालामा कुन कुन ब्रान्ड हुन्छ, कुन कुन मानिसको अनुहार हुन्छ, तपाईंहरू आफै सम्झनुस् । त्यसरी पाइँदैन’, झाले भने ।
उनले सपोर्टिङ डकुमेन्टबिना सहकारीमा रकम फिर्ता गरेको चेकमा हस्ताक्षर गरेको भन्दै प्रचार गरिएकामा आपत्ति जनाए । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनका विषयमा बयान लिने क्रममा जिल्ला सरकारी वकिलले लामिछानेले गोर्खा मिडियाका तर्फबाट उक्त सहकारीलाई सावाँ ब्याज तिरेको चेकका प्रतिलिपी देखाएको थियो ।
जवाफमा लामिछानेले कार्यालयको टेबलको घर्रामा रहेको हस्ताक्षरसहितको चेकमा आफूबाहिर भएका बेला कसैले सहकारीको नाम लेखिदिएको हुनसक्ने बताएका थिए ।
सह-प्रवक्ता झाले अदालतमा विचाराधीन मुद्धामा अनावश्यक प्रचार गरिएको भन्दै आपत्ति जनाए ।
उनले सपोर्टिङ डकुमेन्ट बिनाको चेक सहकारीको किस्ता तिर्न काटिएको मान्न नसकिने तर्क गरे । ‘सहकारीमा जम्मा गर्न काटिएको पनि हुन सक्ने भनेर रास्वपाले तर्क गर्ने ठाउँ बाँकी छ’, उनले भने । झाले रास्वपा र सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको पुष्टि भइसकेको दाबी गरे ।
पोखरास्थित सुर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले २ कात्तिकमा उनलाई पक्राउ गरी सोही दिन पोखरा लगेको थियो । यसअघि लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको बचत अपचलनबारे बायन लिन रुपन्देही लगिएको थियो ।
प्रहरीले जिल्ला अदालत चितवनबाट पनि लामिछानेविरुद्ध पक्राउ अनुमति लिइसकेको छ । काठमाण्डुमा बयान सकिएपछि पोखरा लगेर फेरि चिचवन ल्याउने तयारी प्रहरीको छ ।