लुम्बीनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित

काठमाण्डु टुडे २०८१ मंसिर ११ गते १८:२२ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई पार्टीबाट निलम्बन गरेको छ ।

पार्टीलाई हानी नोक्सानी पुर्याउने मनसाय राखेर गालीगलोज गर्ने, सामाजिक सञ्जालमा लेख्न लगायत गतिविधि गरेको भन्दै चौधरीलाई निलम्बन गरिएको एमालेका एक नेताले जानकारी दिएका छन ।

बाँके–१ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी पुर्वमन्त्री समेत हुन् । लिला गिरी मुख्यमन्त्री हुँदा चौधरी मन्त्री थिए ।

बाँके जिल्ला अध्यक्ष निरक गुरुङले भने, ‘जिम्मेवार पदमा बसेका नेताले पार्टीलाई हानी नोक्सानी पुर्याएमा कारबाही हुने विधानको व्यवस्था छ, त्यसैअनुसार निलम्बन गरिएको हो’ ।

बाँके एमालेको जिल्ला सचिवालय बैठक बसेर चौधरीलाई निलम्बनको निर्णय भएको उनले जानकारी दिएका छन ।

चौधरी कुनै पनि पार्टी कमिटीमा नरहेकाले बाँके जिल्ला कमिटीले सदस्यबाट निलम्बन गर्ने निर्णय भएको एमालेका एक नेताले जानकारी दिएका छन ।

माओवादीबाट एमालेमा आएका चौधरी यसअघि प्रदेश कमिटी उपसचिव थिए । तर गत वर्ष सम्पन्न प्रदेश अधिवेशनमा उनी उपसचिव पदमा पराजित भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us