रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा ‘अन्य आदेश’

काठमाण्डु टुडे २०८१ मंसिर ११ गते १७:२२ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– सर्वेच्च अदालतले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूविरूद्ध दायर अदालतको अवहेलनासम्बन्धी रिट निवेदनमा ‘अन्य आदेश’ दिएको छ ।

अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदनमाथि मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले फाइल र अन्य विवरण मगाउने आदेश दिएको हो ।

यो आदेशसँगै अब अवहेलना मुद्दा अघि बढेको छ। उक्त मुद्दा सुरुमा सर्वोच्च प्रशासनले उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । पछि इजलासमा निवेदन पुगेपछि दर्ता गर्ने आदेश भएको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलका अनुसार इजलासले अन्य आदेश गरेको र के विषयमा भन्ने चाहिँ लिखित आदेशपछि मात्र थाहा हुने बताएका छन ।

न्यायाधीश विनोद शर्माको इजलासले गत कात्तिक २७ गते रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया भइरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरी अदालतको अवहेलना गरेको भन्दै सोसम्बन्धी निवेदन दर्ता गर्न आदेश गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us