पूर्वमन्त्री अधिकारीको बयानः म आफैँ पीडित हुँ, दोषीलाई कारबाही गरेर मैले न्याय पाउँ

काठमाण्डु टुडे २०८१ मंसिर ११ गते १४:३२ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– मानव तस्करी प्रकरणमा मुछिएर पक्राउ परेर रिहा भएका कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री एवं एमाले नेता लिलाबल्लभ अधिकारीले आफू जोडिएको मानव बेचबिखन र लिखत किर्ते मुद्दामा आफैँ पीडित भएको बयान दिएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले उनलाई मुद्दा नचलाउने निर्णय गरिसकेको छ । पूर्वमन्त्री अधिकारीसँगै जापानको टोकियोस्थित नारिता विमानस्थलमा पुगेका दावा शेर्पा, जनक राई र कञ्चन देवकोटाविरुद्ध भने मुद्दा दायर गरिएको छ ।

पूर्वमन्त्रीसँगै उनीहरू पनि जापानको नारिता विमानस्थलबाट ‘डिपोर्ट’ भएर काठमाण्डु फर्किएका थिए । आफ्नो र मन्त्रालयको सही छाप किर्ते गरेर गिरोहले परिचयपत्र बनाएको भन्दै अधिकारीले आफैँ पीडित भएको जिकिर गरेका छन् ।

बयानमा उनले भनेका छन्, ‘दोषी माथि कारबाही गरी मैले न्याय पाउँ । मन्त्रालयको परिचयपत्र बोकेर टोकियो पुगेका जनक राई र कञ्चन देवकोटा कर्मचारी नभएको उल्लेख गर्दै उनले भनेका छन्, ‘ती कार्डहरू किर्ते गरी बनाएका नक्कली कार्डहरू हुन् ।’

परिचयपत्रमा उल्लेखित हस्ताक्षर आफ्नो नभएको उनको दाबी छ । नारिता विमानस्थलबाट आफूले घट्नाबारे विशेष ब्युरोका डीआईजी राजन अधिकारीलाई जानकारी गराएको उल्लेख गर्दै बयानमा भनेका छन्, ‘मानव तस्कर तथा किर्ते सम्बन्धी अपराध बारे मौकामै आफूलाई थाहा हुने बित्तिकै प्रहरीलाई सूचना दिने व्यक्ति म हुँ, म यस अपराध घटनाको पीडित र अपराधको पहिलो सूचक समेत भएको हुँदा म अपराधमा संलग्न व्यक्ति होइन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us