हवाई टिकट नपाउँदा रविलाई काठमाण्डु पठाउने अनिश्चित

काठमाण्डु टुडे २०८१ मंसिर ११ गते १०:४६ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि आज पोखराबाट काठमाण्डु पठाउने भनिए पनि हवाई टिकटको व्यवस्था नहुँदा अनिश्चित भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको हवाईजहाजबाट काठमाण्डु पठाउने तयारी गरीएको थियो । तर अहिलेसम्म काठमाण्डुबाट हवाई टिकट प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डीएसपी बसन्त कुमार शर्माले जानकारी दिएका छन ।

डीएसपी शर्माले भने, ‘आज बयानका लागि काठमाडौं पठाउने त भनिएको हो तर हवाई टिकट लगायतका कागजात प्राप्त भइसकेको छैन ।’ सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाण्डुबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ । उनीविरुद्ध काठमाण्डुबाट समेत पक्राउ पुर्जी जारी भएकाले उनलाई काठमाडौं ल्याएर बयान लिन लागिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us