काठमाण्डु, ११ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभाति रवि लामिछानेले आफूमाथि निरन्तर अन्याय भएको बताएका छन् ।
लामिछानेले कम्पनीको जिम्मेवारी पूरा गर्दा आफूमाथि निरन्तर अन्याय गरिएको बताएका हुन् ।
कास्की प्रहरीको हिरासतमा भेटेन पुगेका रास्वपाका नेतासँग लामिछानेले त्यस्तो गुनासो गरेको सो पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले बताए ।
लामिछानेले आफूले सहकारीमाट ऋण मागेको, लगेको, खाएको, मासेको प्रमाण नै फेला परेको जसरी प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।
उनले गोर्खा मिडियाले सम्झौता गरेका कर्मचारी, कम्पनी, भेण्डर आदिलाई भुक्तानी दिन प्रदान गरिएका चेकहरूबारे तथा कार्यकारी अध्यक्षको निर्देशन पालना गरी भुक्तानी गरिएको बैंक, वित्तीय संस्था, कम्पनी, वा व्यक्तिका हकमा आफूले जवाफदेहिता रहने उनले बताए ।
प्रचलित कम्पनी ऐन बमोजिम गोर्खा मिडियाले तिरेको पैसाको जिम्मेवारी र जवाफदेहिताबाट निमुख हुन्छु भनेको नभनेको भन्दै लामिछानेले सहकारीबाट पैसा ल्याउने कार्यमा मेरो संलग्नता नभएको उल्लेख गरे ।
‘मैले गोर्खा मिडियाका खाताहरु रहेको चेकमा हस्ताक्षर गरी भुक्तानी गर्दा कुनकुन चेकले कुनकुन कानूनको उलंघन भयो ? आज पो सुप्रिम, सुर्यदर्शनजस्ता सहकारीका समस्या सार्वजनिक भयो । तीन वर्ष अगाडि लगानीकर्ताको निर्देशसनसँगै निश्चित विधि र प्रक्रिया पूरा गरी आएका बैंक, वित्तीय संस्था, सहकारी वा कुनै कम्पनीलाई दिइने चेकमा हस्ताक्षर गर्न किन सोच्नुपथ्र्यो र ? ’, लामिछानेको भनाइ उद्धृत गर्दै झाले भने ।
संसदीय विशेष छानबिन समितिले पोखराको सुर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा, वीरगञ्जको सानो पाइला र काठमाण्डुको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
समितिले सहकारीको पैसा गोर्खा मिडियामा लैजाने भूमिकामा भूमिका नभए पनि उक्त मिडियाको प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेले खर्च भने गरेको औंल्याएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयानका क्रममा उनले सुप्रिम र पोखरको सूर्यदर्शन सहकारीको नाममा काटेको चेकको प्रतिलिपी प्रस्तुत गरिएको थियो ।
त्यसबारे आफूले ‘सपोर्टिङ’कागजात हेर्नुपर्ने जवाफ दिएको उनको भनाइ छ । कार्यकारी अध्यक्ष एवं लगानीकर्ता जिबी राईले ब्याज नलाग्ने ऋण लिएको पनि लामिछानेले झामार्फत बताएका छन् । जिबीको निर्देशनमा कुनै चेकहरू काटिएको हुनसक्ने भन्दै लामिछानेले त्यसका लागि चेकसँगैको ‘सपोर्टिङ डकुमेण्ट’ हेर्नुपर्ने बताएको झाले उल्लेख गरे ।
चेकको प्रतिलिपी देखाइएपछि सभापति लामिछानेले केहीबेर बुझ्नुपर्छ भनेको, केहीबेर त्यहीँबाट टेलिफोन सम्पर्कमा पाँच÷सात मिनेट कुराकानी गरेको जानकारी आफूलाई गराएको झाले बताए ।
उनले आफ्नो चेकको दुरुपयोग भएको हुनसक्ने पनि बताएका छन् । ‘व्यस्तता र उपत्यका बाहिरको भ्रमणहरुका कारण खाली चेकमा समेत हस्ताक्षर गरेर छोड्ने अभ्यास थियो । कतै दुरुपयोग पो भयो कि ? लामिछानेले भनेका छन् ।