![](https://www.kathmandutoday.com/wp-content/uploads/2024/10/dishhome.gif)
काठमाण्डु, १० मंसिर– पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले सरकार ढाल्ने स्वार्थ समूहले नै धितोपत्र बोर्डका अध्यक्ष नियुक्त गरेको प्रतिक्रिया दिएका छन् ।
पुनले वर्तमान केपी ओली नेतृत्वको सरकारले मुलुकको अर्थतन्त्र नै बिचौलियाको हातमा सुम्पिएको आरोप लगाए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सन्तोषनारायण श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।
पुन अर्थमन्त्री भएका बेला वर्तमान तत्कालीन सत्ता साझेदार एमाले अध्यक्ष एवं हालका प्रधानमन्त्री केपी ओलीले श्रेष्ठलाई बोर्ड अध्यक्ष नियुक्त गर्न दबाब दिएका थिए । तर, नियामक निकायको नेतृत्व व्यापारिक स्वार्थमा अघि सारिएका व्यक्तिलाई दिन नहुने भन्दै पुनले अस्वीकार गरेका थिए । प्रचण्ड नेतृत्वको सरकार ढल्नुको कारणमध्ये एक धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकरण पनि मानिन्छ ।
पुनले ओली सरकारले मुलुकको अर्थतन्त्र नै बिचौलियाको हातमा सुम्पिएको आरोप लगाए । ‘सरकार ढाल्ने स्वार्थ समूहले नै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरेको छ’, उनले भने, ‘हामीले भन्दा सरकारबाट हट्नुपर्दाको पीडा भन्नेहरुले पनि अब बुझे होलान् कि यो सरकार स्वार्थ समूहले चलाएको छ भन्ने ।’
पुनले नेपाल राष्ट्रबैंकको गभर्नर पनि स्वार्थ समूहले नै नियुक्त गर्ने तयारी गरेको बताए । ‘स्वार्थ समूहले गभर्नर नियुक्तिका लागि समेत मान्छे तयार गरिसकेको छ’, मुलुकको अर्थतन्त्र, सेयर बजार र बीमा क्षेत्र बिचौलियाले कब्जा गर्दैछ ।’
पुनले सार्वजनिक रुपमा पटकपटक वर्तमान सरकार बिचौलियाले बनाएको बताउँदै आएका छन् ।