काठमाण्डु, १० मंसिर– एमाले महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण निर्माण व्यवसायीलगायत अन्य व्यवसायीहरू मारमा परेको दाबी गरेका छन ।
आज सोमबार काठमाण्डुमा नेपाल निर्माण उद्योग परिषद्को कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन ।
महासचिव पोखरेलले राजनीतिक अस्थिरताको कारण स्थायी सरकार बन्न नसक्दा निर्माण उद्योगमा समस्या परेको बताए । उनले हरेक तीनदेखि ६ महिनामा सरकार परिवर्तन हुने र बजेटमा निर्माण आयोजनाहरू आफू अनुकुल थप्ने तथा पुराना आयोजनाहरूलाई बजेट नहाल्ने हुँदा निर्माण क्षेत्रले भुक्तानीको समस्या भोग्नुपरेको बताएका छन ।
उनले राजनीतिक स्थिरता हुँदा नीतिगत स्थिरतासँगै उद्योग व्यवसायमा समेत सकारात्मक असर पर्ने बताए । उनले नेपालको निर्माण लगायत उद्योग व्यवसाय क्षेत्रमा राजनीतिक अस्थिरताको कारण असर परिरहेको बताएका छन । . महासचिव पोखरेलले देश बनाउनको लागि सबैले नयाँ ढङ्गले सोच्न आवश्यक रहेको पनि बताएका छन ।
उनले नेपाली युवा बाहिर जाने र नेपालमा विदेशबाट आएर काम गर्ने वातावरण बनेको बताए । उनले यस्तो हुँदा बाहिर जाने युवाहरूले मुलुकमा रेमिट्यान्स ल्याए जस्तै नेपालको पैसा बाहिर जाने गरेको बताएका छन ।
महासचिव पोखरेलले भने,‘देश बनाउनु छ भने नयाँ ढङ्गले सोच्नुपर्छ । त्यो सोच्ने काम कसैले पनि गरिरहेको छैनौँ । बाहिर जाने युवाहरूले मुलुकमा जसरी रेमिट्यान्स लिएर आउँछन् त्यसरी नै बाहिर जान्छ ।
त्यही भएर देश बनेको छैन । हाम्रो आनीबानीमा परिवर्तन नभएकाले देश बन्न सकेको छैन । सबै काम देशभित्रका मानिसहरूले गर्दा मुलुकमा कर तिर्ने थिए । विदेशका मानिसहरू नेपालमा आएर काम गरेपछि नेपालको रकम बाहिर जान्छ ।
मुलुकभित्र पर्याप्त मात्रामा सामर्थ्य छ । तर मुलुकको सामर्थ्य समान गर्नसक्ने राज्यलाई कमजोर बनाएका छौँ । जबसम्म राज्य बलियो हुँदैन । तबसम्म देश बनाउन गाह्रो हुन्छ ।’