प्रधानमन्त्री ओलीलाई माधव नेपालको सुझावः कुन देशको भ्रमण पहिले गर्ने भन्ने टन्टाबाट मुक्त हुनुस्

काठमाण्डु टुडे २०८१ मंसिर १० गते १३:२४ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुन देशको भ्रमण पहिले गर्ने भन्ने विषयमा नअल्झिन सुझाव दिएका छन् ।

आज (सोमबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरूसँगको सामुहिक छलफलमा अध्यक्ष नेपालले यस्तो सुझाव दिएका हुन । अध्यक्ष नेपालले जुन देशले पहिले निम्ता दिन्छ त्यही देशको भ्रमण हुनुपर्ने पनि बताएका छन ।

छलफलमा राखेको विषयवस्तुबारे पूर्वप्रधानमन्त्री नेपालले भने, ‘यो देशको भ्रमण पहिले गर्ने, त्यो देशको भ्रमण दोस्रो गर्ने भन्ने यो टन्टाबाट मुक्त हुनुपर्यो । जसले पहिलो निम्तो दिन्छ त्यहीँ जाने’ ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । त्यही भ्रमणको तयारी अन्तर्गत प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरूसँगको सामुहिक छलफल गरेका हुन् ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन् । नेपालका प्रधानमन्त्रीहरुले पहिले औपचारिक भ्रमण भारतबाट गर्ने गरेका थिए ।

प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नआएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए ।

चीन भ्रमणका एजेण्डाबारे ओलीले आज सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग संयुक्त छलफल आयोजना गरेका थिए ।

छलफलमा सहभागी पूर्वप्रधानमन्त्री नेपालले नेपाल शान्ति भूमि हो भन्ने कुरालाई ध्यानमा राखेर सबैसँग सुमधुर सम्बन्ध कायम राख्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us