काठमाण्डु, १० मंसिर– प्रधानमन्त्री केपी ओलीले कसैले पनि हिंसा, अपमान र विभेद महसुस नगर्ने समाज निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
आइतबारदेखि सुरु लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले महिलालाई वस्तु ठान्ने सामन्ती युगबाट अहिले चेतनागत, मान्यतागत, संवैधानिक, कानूनी र व्यवहारिक हिसाबले आधुनिक, समातामुलक, शान्तिपूर्ण युगमा प्रवेश गरिएको बताए ।
‘एउटा मेसिनलाई यन्त्र ठान्ने दास युग, महिलालाई वस्तु ठान्ने सामन्ती युगबाट हामी अहिले चेतनागत, मान्यतागत, संवैधानिक, कानुनी हिसाबले र व्यवहारिक हिसाबले आधुनिक, समतामुलक, शान्तिपूर्ण युगमा प्रवेश गरेका छौं र यसलाई अझ उन्नत बनाउने हाम्रा प्रयास जारी छन्’, ओली ले सन्देशमा भनेका छन् ।
महिला हिंसाविरुद्धको अभियानले सबैलाई सभ्य, हिंसारहित समाज निर्माण गर्न महत्वपूर्ण योगदान दिने विश्वास प्रधानमन्त्रीको छ । ‘म सबैलाई आग्रह गर्न चाहन्छु, हरेक संघसंस्था वा समाज सबै ठाउँबाट संकल्प गरौं कि अब हामी लैंगिक हिंसा, भेदभाव हुन दिनेछैनौं’, ओलीले भने, ‘यस अभियानले हामी सबैलाई त्यही प्रेरणा प्रदान गरोस् ।’
१० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियानको नारा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने तय गरिएको छ ।
सरकारले ६ वर्षअघि हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।