काठमाण्डु, १० मंसिर– वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह गरेको छ ।
विभागले एक सूचना जारी गर्दै उपत्यकालगायत स्थानमा वायु प्रदूषण बढेपछि विभागले फोहोर नजलाउन आग्रह गरेको हो ।
विभागका अनुसार आइतबार बिहान ७ बजे काठमाण्डुको रत्नपार्क क्षेत्रको वायु गुणस्तर सूचकांक १ सय ५१ पुगेको छ । वातावरणका लागि यो निकै हानिकारक हो ।
विभागले चितवनको भरतपुरमा १ सय ४१, भक्तपुरमा १ सय २१, धनकुटामा ९१, नेपालगञ्जमा ६८ र काठमाण्डुको शंखपार्कमा ५२ सुचकांक मामन भएको छ ।
वायु प्रदूषणका कारण बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी तथा गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
वायु प्रदूषणको मुख्य कारणको रुपमा उद्योग कलकारखाना र सवारी साधनबाट निष्काशन हुने धुवाँ, वन डढेलो, खुला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने धुलो आदि रहेको विभागले जनाएको छ ।
विभागले ठोस तथा प्लास्टिकजन्य फोहर तथा कृषिजन्य अवशेष नजलाउन, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण स्थलहरुबाट उड्ने धूवाँ धुलोको यथोचित नियन्त्रण गर्न अपिल गरेको छ ।