सभामुख कम्बोडिया गएका बेला प्रतिनिधिसभा सचिवले किन दिए राजीनामा ?

काठमाण्डु टुडे २०८१ मंसिर ९ गते २०:५४ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले जिम्मेवारी सम्हालेको ६ महिना पनि नपुग्दै पदबाट राजीनामा दिएका छन् ।

अधिकारीले सभामुख देवराज घिमिरे मुलुकबाहिर रहेका बेला राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा बुझाएका हुन् । सभामुख घिमिरे हाल कम्बोडिया भ्रमणमा छन् ।

सभामुख कम्बोडिया जानुअघि सचिव अधिकारीले सभामुख घिमिरेलाई काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिने मनस्थितिमा रहेको बताएका थिए । तर, घिमिरेले भने राजीनामा नदिन सुझाएका थिए ।

अधिकारीले ११ मंसिरमा स्वदेश फर्कुन्जेल घिमिरेलाई नकुरी राजीनामा बुझाएका छन् । सभामुको सिफारिसमा पूर्वसचिव अधिकारी राष्ट्रपतिबाट गत १८ असारमा प्रतिनिधि सभाको सचिव नियुक्त भएका थिए ।

अधिकारी संघीय संसदअन्र्गतको राज्यको निर्देशक सिद्धान्त समितिको समेत सचिवको जिम्मेवारीमा थिए । बैठकमा सांसद र सचिव अधिकारीबीच भनाभनसमेत हुने गरेको थियो ।

अधिकारीले प्रस्तुति दिने क्रममा एक सांसदले ‘जनताबाट निर्वाचित जनप्रतिनिधिलाई सचिवले पढाउने होइन’ भन्ने अभिव्यक्ति दिएका थिए ।

श्रोतका अनुसार अधिकारीले अन्यत्रको तुलनामा संसदमा पारिश्रमिक र सेवासुविधा कम भएको तथा सांसदहरुले हेप्ने गरेको बताउँदै आएका थिए । यसैबीच राष्ट्रपति पौडेलले सोमबारदेखि लागू हुने गरी अधिकारीको राजीनामा स्वीकृत गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us