दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाण्डु टुडे २०८१ मंसिर ९ गते १८:३३ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– जिल्ला अदालत काठमाण्डुले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन् ।

केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अनुसन्धान गर्न उनलाई थप १० दिन हिरासतमा राख्न अनुमति मागेको थियो । मंसिर ४ मा भक्तपुरबाट पक्राउ परेका प्रसाईँविरुद्ध कम्तीमा ५ वटा कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ र संगठित अपराध मुद्दामा उनलाई अभियोजन गर्ने सरकारी तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको कसुरमा उनीविरुद्ध प्रहरीले लिखत किर्ते सम्बन्धी मुद्दा अगाडि बढाउने भएको छ ।

प्रधानमन्त्री ओलीले कम्बोडियाको एक टेलीकम कम्पनीमा लगानी गरेको भनेर फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

सो कागजात भुवन भुषालले अपलोड गरेका थिए । कम्बोडियामा बस्ने ईश्वर पोखरेल ‘सफल’सँग प्रसाईँले भिडियो कुराकानी गर्दै सो कागजात देखाएका थिए ।

प्रसाईँले अपलोड गरेको नागरिकताको फोटोकपी र प्रधानमन्त्रीको सक्कली नागरिकता मेल नखाएको अनुसन्धानमा संलग्न सीआईबीका अधिकृतहरू जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us