जब कालिमाटीमा मध्यराति महिलाको शव बोकेर युवकले सडकमा फाले …

काठमाण्डु टुडे २०८१ मंसिर ९ गते १८:३० मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– प्रहरीले कालिमाटीमा मध्यराति एक महिलाको शव बोकर फालेको आरोपमा एक युवक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ घर भएका २२ वर्षीय कविन्द्र मल्ल रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

घटना ७ मंसिरको भएको प्रहरीले जानकारी दिएको छ । कालिमाटीस्थित संगितमार्गमा एक महिलाको शव भेटियो । नामथर वतन नखुलेकी महिलाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

सो क्रममा सीसीटीभी फुटेजमा एक युवकले ती महिलालाई बोकेर त्यहाँ फालेको देखियो । ‘युवकले बोकेर फालेको देखिन्छ । अन्तै मारेर त्यहाँ ल्याएर फालेको हो वा अन्य केही हो खुल्न बाँकी नै छ’ एक अनुसन्धान अधिकृतले भने ।

सीसीटीभी फुटेजमा देखिएको चप्पल, ट्राउजर र ज्याकेटको हुलिया केन्द्रीत भएर अनुसन्धान गरेको प्रहरीले आज आइतबार एक युवकलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका मल्लले उक्त फुटेजमा देखिएको व्यक्ति आफू नै भएको प्रहरीसमक्ष बताएका छन् । प्रहरी समक्ष उनले भनेका छन्, ‘म लागु औषध सेवनकर्ता हो । मैले बोकेर फालेको हुँ ।

के कसो भयो यहाँ भन्दा बढी मलाई थाहा छैन ।’ अनुसन्धानका क्रममा मृतक महिला उदयपुर घर भएकी ४५ वर्षीया जानुका सुर्खेती रहेको खुल्यो । उनी विवाहित भए पनि आफूखुसी बसोबास गर्दै हिँड्ने गरेको खुलेको छ ।

यता शव बोकेर फालेको अवस्थामा पक्राउ परेका युवक भने ६ गते मात्रै प्रहरी हिरासत कालिमाटीबा छुटेको खुलेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us