काठमाण्डु, ९ मंसिर– काठमाण्डु महानगरपालिका–९ सिनामंगलस्थित होटल जन्मभूमिको चौंथो तलामा मृत भेटिएका दुई जना दम्पती रहेको पुष्टि भएको छ ।
सुनसरीको दुहबी घर भएका ३४ वर्षीय रमेश माझी र २९ वर्षीया शर्मिला श्रीमान्–श्रीमती रहेको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।
हिजो बिहान कतार एयरलाइन्सको उडानमार्फत उनीहरू क्यानडाबाट काठमाण्डु आएका हुन् । काठमाण्डु आएपछि उनीहरू एयरपोर्ट नजिकै रहेको होटल जन्मभूमिमा गएर बसेको एसपी अधिकारीले जानकारी दिएका छन ।
उनले भने, ‘विमानस्थलबाट उहाँहरू सिधै होटलमा गएको देखिन्छ ।’पौने ७ बजेतिर होटलमा पुगेका उनीहरू चौथो तलाको १२० नम्बर कोठामा बसे । मोरङ घर भएकी शर्मिलाको पासपोर्टमा पतिको नाम रमेश माझी उल्लेख छ ।
उनीहरू २०२२ देखी क्यानडामा बसेर फर्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । होटलको कोठा बन्द रहेको र कोठा बाहिर बार्दलीमा एउटै सलको पासोमा दुवैजना झुन्डिएको अवस्थामा उनीहरू फेला परेका हुन् ।
स्थानीय जनप्रतिनिधिको रोहबरमा ढोका फुटाएर प्रहरीले अनुसन्धान सुरु गरीएको प्रहरीले जानकारी दिएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सक विशाल सहनीले घटनास्थलमा पुगेर फरेन्सिक जाँच गरेका छन् ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको एसपी अधिकारीले बताए । विराटनगरबाट उनीहरूका आफन्त काठमाडौँ आउँदै छन् । आफन्त आएसँगै जाहेरी लिएर शव पोस्टमार्टम गरिने अधिकारीले जानकारी दिएका छन ।