एमालेले बुझ्न मानेन महानगरको जरिवाना पत्र

काठमाण्डु टुडे २०८१ मंसिर ९ गते १४:३३ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– काठमाण्डु महानगरपालिकाले तोकेको एक लाख जरिवानाको पत्र बुझ्न सत्तारुढ दल नेकपा एमालेले अस्वीकार गरेको छ ।

आज आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको महानगर प्रहरी स्रोतले जानकारी दिएको छ ।

एमाले गएको ७ मंसिरमा काठमाण्डुको दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवानाको पत्र लेखेको थियो । उक्त पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझी फिर्ता गरेको हो ।

गत शुक्रबार एमालेका काठमाण्डु, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा जागरण सभा आयोजना गरिएको थियो ।

काठमाण्डु महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाण्डु महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको बताएको छ । एमालेले पत्र बुझ्न नमानेपछि महानगरको टोली कार्यालय परिसरमै बसिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us