एमालेलाई जरिवानाको पत्र बुझाउन महानगरको टोली च्यासल जाँदै

काठमाण्डु टुडे २०८१ मंसिर ९ गते १३:४४ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– काठमाण्डु महानगरपालिकाले एमालेलाई गरिएको जरिवानासम्बन्धी पत्र औपचारिक रूपमा बुझाउने तयारी गरेका छ ।

महानगरपालिकाले आइतबार एमाले पार्टी कार्यालय च्यासलमा पुगेर जरिवानासम्बन्धी पत्र बुझाउन लागेको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन ।

महानगरले मंसिर ७ गते दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी फोहर गरेको भन्दै एमालेलाई १ लाख जरिवाना गर्ने निर्णय गरेको थियो ।

फोहोर गरेपनि त्यसको व्यवस्थापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाण्डु महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ ।

उक्त पत्र बुझाउन महानगरपालिकाका प्रतिनिधिहरू पौने २ बजे एमाले पार्टी कार्यालय पुग्ने स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us