दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते भएका मेहताको मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर ८ गते २०:१४ मा प्रकाशित

विराटनगर, ८ मंसिर– मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको कोशी गाउँपालिका–३ का ६० वर्षीय फुलेश्वर मेहता छन् ।

प्रसाईं सवार बागमती प्रदेश०१–०२८च०२०१ नम्बरको गाडीले गत २५ कात्तिकमा कोशी कोही–३ नहरचोकमा मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार मेहता गम्भीर घाइते भएका थिए ।

उनको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

भोक्राहा नरसिंहस्थित सप्तकोशी न्युरो अस्पतालमा उपचार हुन नसकेपछि मेहतालाई नोबेल अस्पताल लगिएको थियो । मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मेहताको ज्यान गएको आरोप लगाएका छन् ।

ठक्कर दिने प्रसाईं प्रधानमन्त्री केपी ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा अर्बौं लगानी गरेको आरोप लगाएपछि पक्राउ परी हाल प्रहरी हिरासतमा छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us