काठमाण्डु, ८ मंसिर– भारतीय जनता पार्टीका नेता डा.विजय जोलीले नेपालले जान जानी सीमा विवाद उत्पन्न गरेको भन्दै आपत्ति व्यक्त गरेका छन ।
आज (शनिबार) राष्ट्रिय एकता अभियानले आयोजना गरेको हिन्दु संस्कृति र नेपाल–भारत सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा उनले विवाद झिकेर लिपुलेक जस्ता ठाउँलाई नक्सामा ल्याएको भन्दै आपत्ति व्यक्त गरेका हुन । उनले भने, ‘मैले विश्वका ९४ देशको भ्रमण गरेको छु कुनै पनि देशको रुपैयाँमाथि कुनै छिमेकी देशको सीमा विवादको फोटो छापेको देखेको छैन ।’
‘सीमालाई लिएर चीन र भारतको बिचमा पनि विवाद रहेको छ तर त्यो विवादित ठाउँलाई आफ्नो रुपैयाँमा कसैले छापेका छैनन्, तर नेपालले विवादित ठाउँलाई आफ्नो रुपैयाँमा छाप्दा मलाई दुःख लागेको छ ।’ उनले यो विवादलाई संवादमार्फत समाधान गर्न सकिने समेत बताए । तर त्यसका लागि प्रयास नभएको बताउँदै उनले भने– ‘एउटा परिवारमा मतभेद हुन्छ तर त्यसलाई संवादमार्फत समाधान गर्न सकिन्छ त्यसका लागि सुझबुझको आवश्यकता छ ।’
नेपालमा नाकाबन्दी हुँदा समेत नेपालको नेतृत्वले युएनमा गएर भारत विरुद्धमा उजुरी गरेको गुनासो गर्दै जोलीले जुन काम भारतले गरेकै थिएन त्यसको गुनासो युएनसम्म पुर्याउनुको अर्थ नभएको बताएका छन ।
नेपाल र भारत बिचको सम्बन्ध बेटी रोटीको सम्बन्धभन्दा माथि रहेको बताउँदै उनले विश्वमै यो सम्बन्ध अद्भूत रहेको बताए । नेपाल र भारतमा मात्र होइन विश्वका जुनसुकै देशमा यी दुई देशका मान्छे बसेका र त्यहाँ उनीहरुको बिचमा राम्रो सम्बन्ध रहेको भन्दै जोलीले प्रशंसा गरेका छन ।
सांस्कृतिक एकता समेत बलियो राख्न नेपाल–भारतबिचको सम्बन्ध सशक्त रहनुपर्ने उल्लेख गर्दै उनले दुवै बराबरी रहेको बताए । नेपालमा भइरहेको धर्म परिवर्तनले आफूहरूलाई चिन्तित बनाएको समेत उनले बताए । जोलीले नेपालमा धर्म परिवर्तन विरुद्धको कानुन भए पनि धर्म परिवर्तनको गतिविधि चलिरहनु चिन्ताको विषय भएको बताए ।