काठमाण्डु, ७ मंसिर- प्रधानमन्त्री केपी ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन् ।
एमालेले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै ओलीले अहिलेको समीकरण कसैले भत्काउन नसक्ने दाबी गरे ।
एमालेलाई कसैले हल्लाउन सक्ने छैन। अहिलेको समीकरण र सरकारलाई पनि कसैले हल्लाउन सक्ने छैन,’ उनले भने, ‘अहिलेको सरकार कमिसनखोरी र भ्रष्टाचार गर्न गएको छैन। कमाउन आएको छैन । आफ्ना मान्छे भर्ती गरेको छैन । एमालेतिर औँला ठड्याएर बोल्नेहरूलाई चुनौती दिन चाहन्छु, तथ्य र प्रमाणका आधारमा बहस गर्न सक्नुहुन्छ?’
प्रधानमन्त्री ओलीले कम्बोडियामा ३२ हजार करोड लगानी गरेको फाल्तु भ्रम फैलाइरहेको बताए । उनले सात पुस्ता पुग्ने अर्बौं सम्पत्तिको मालिक बन्नेहरू पनि यहाँ रहेको आरोप लगाए ।
‘कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड डलर, स्वीस बैंकमा यति हजार, तपाइँहरू हेर्न त जान सक्नु हुन्न । भन्दिए भो । त्योमात्र किन भन्ने अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो ल । भन्देउ न भन्दिनका लागि । यस्तो फाल्तु कुरा गरेर हुँदैन । कसले सात पुस्ता र गोरु बेचेको साइनोसम्मकालाई थुपारेर अर्बौं करोडौंको मालिक बनाएका छन् । त्यसका लागि हामी बहस गर्न तयार छौं,’ ओलीले भने ।