काठमाण्डु, ७ कात्तिक- एमाले महासचिव शंकर पोखरेलले अराजकताकाविरूद्ध उभिँदा एमाले नेतृत्व र प्रधानमन्त्री केपी ओलीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।
एमालेले शुक्रबार राजधानीमा गरेको जागरण सभामा बोल्दै उनले
एमालेको जनमत खस्किएको भन्नेलाई सभाले पार्टी जनता र राष्ट्रको हृदयमा भएको सन्देश दिएको जिकिर गरे ।
‘आज हाम्रो पार्टी र हाम्रो पार्टीका अध्यक्षको विरूद्धमा गरिएको केही भ्रमका खेतीबारे प्रष्ट पार्नुपर्छ भनेर केही विषयमा चर्चा गर्छु । जतिबेला नेपाल शान्ति प्रक्रिया सुरू हुँदै थियो । शान्ति प्रक्रियाका नाममा समाजमा आतंक खडा गरिँदै थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले त्यो अराजकताका विरूद्ध आफूलाई दह्रो ढंगले उभ्याउनुभयो । त्यही समयमा उहाँलाई कमजोर बनाउन माओवादीका कार्यकर्ताको नामबाट षड्यन्त्र भयो । जावलाखेलमा बन्दै गरेको टेलिकमको घरको चित्र देखाएर यो त केपी ओलीको घर हो भनियो । पत्रपत्रिकामा फोटो टाँसियो । समयक्रममा त्यहाँ टेलिकमको अफिस चल्न थालेपछि भ्रम आफै अन्त्य भयो,’ उनले भने ।
अराजकताका विरूद्ध उभिँदा अध्यक्ष ओलीविरूद्ध विभिन्न षड्यन्त्र र बदनामी भएको महासचिव पोखरेलले उल्लेख गरे ।
उनले सबैभन्दा बढी चर्चा ओम्नी प्रकरणबारे गरिएको भन्दै आपत्ति जनाए ।
नेपाली जनताको जीवन रक्षाका लागि जसरी भए पनि सामग्री ल्याउन ओम्नी कम्पनीलाई सामग्री ल्याउन अनुमति दिएको उनको भनाइ थियो ।
त्यतिबेला नेपाल एयरलाइन्सलाई भाडामा लिएर लिन जाँदा जुन कम्पनीले सामान दिने भनेको थियो त्यो कम्पनीले सबै सामान उठाएर लगेपछि ओम्नी कम्पनीले जे सामान पाइन्छ त्यही सामान बोकेर नेपाल फर्किएको प्रस्टीकरण उनको थियो ।
तिनै सामानबाट जनताको जीवन रक्षाको अभियान चलाएको र बुझ्दै जाँदा सम्झौताका शर्तअनुसारका सामग्री नआएको गुनासो आएपछि सरकारले त्यो कम्पनीलाई दिनुपर्ने पैसा रोकेको पोखरेलले बताए ।
सरकारले एक पैसा पनि खर्च नगरेको परियोजनाबारे नेकपा एमाले, ओम्नी भनेर कूप्रचार गर्ने गरिएको जिकिर उनले गरे