सुरक्षा निकायलाई बालुवाटार र सिंहदरबारको कडा निर्देशनःदरबारमार्गमा ओलीविरुद्ध नाराबाजी नहोस्

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते ११:१९ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– गृह मन्त्रालय र प्रधानमन्त्रीको निजी सचिवालयले एमालेले गर्न लागेको शक्ति प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी हुन सक्ने भन्दै सुरक्षा निकायलाई ‘अलर्ट’ गराएको छ ।

प्रदर्शनपछि दरबारमार्गमा आयोजित ‘जागरण सभा’ लाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । एमालेले सरकार र प्रधानमन्त्री ओलीविरुद्धको जनआक्रोशलाई ‘अराजकता’ को संज्ञा दिँदै आफ्नो पक्षमा जनमत रहेको देखाउन कार्यकर्तालाई सडकमा उतार्न लागेको हो ।

अबाञ्चित तत्वले कार्यकर्ताको भिडमा पसेर ओलीविरुद्ध कालो झण्डा प्रदर्शन वा नाराबाजी गर्न सक्ने भएकाले आवश्यक सुरक्षा प्रबन्धका लागि निर्देशन गरिएको हो ।

यसअघि गत १० भदौमा टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध युवाहरुले नाराबाजी गरेका थिए । नारा लगाएको भन्दै तीन जनालाई प्रहरीले सभास्थलबाटै पक्राउ गरेको थियो ।

 

यस्तै साफ महिला च्याम्पियनसिप–२०२४ अन्तर्गत गत १४ कात्तिकमा नेपाल र बंगलादेशबीचको उपाधि खेल हेर्न दशरथ रंगशाला गएका बेला पनि ओलीविरुद्ध दर्शक दिर्घाबाट अभद्र नारा लागेको थियो । नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएपछि आक्रोशित दर्शकले ओलीको उपस्थितिका कारण नेपालले हारेको आरोप लगाउँदै नाराबाजी गरेका थिए । नारबाजीमा संलग्नहरुलाई ‘माथिको आदेश’ मा प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा र परराष्ट्रमन्त्री आरजु राणाको स्वागतमा ७ असोजमा आयोजित कार्यक्रममा नाराबाजी हुने भएपछि ओली गएका थिएनन् ।

नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको आयोजनामा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा नाराबाजी हुने सूचना पाएपछि ओली अन्तिम समयमा गएका थिएनन् ।

नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले सूचना नै जारी गरेर समारोह स्थलको सुरक्षा संवेदनशीलताका कारण कार्यक्रम स्थगन गरिएको जानकारी दिएको थियो ।

फेरि त्यस्तै घटना नदोहोरियोस् भन्नका लागि सुरक्षा सतर्कता बढाइएको प्रहरी उच्च अधिकारीहरु बताउँछन् । एमालेको शक्ति प्रदर्शनमा प्रधानमन्त्री ओली आउने भएपछि सुरक्षार्थ ५ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सुरक्षा व्यवस्था कडा पारिएको बताए । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए । यस्तै ट्राफिक व्यवस्थापन सहज बनाउन ५ सयभन्दा बढी ट्राफिक प्रहरी खटाइने पनि उनले बताए ।

एमालेको शक्ति प्रदर्शन, दुर्गा प्रसाई समूह र सहकारी पीडितको आन्दोलन एकै समयमा भएकाले सुरक्षा प्रबन्ध कडा पारिएको उनको भनाइ थियो ।

ओलीविरुद्ध नाराबाजी हुन सक्ने आशंकामा सादा पोशाकमा बाक्लो संख्यामा कार्यक्रमस्थल आसपास नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागबाट सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिएको छ । यस्तै सभास्थलको सुरक्षामा तालिम प्राप्त कुकुरसमेत प्रायेग गरिने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us