विराटनगर, ६ मंसिर– पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरालिका–३ मंगलबारेमा बिहीबार साँझ दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश१–०२–०५०प८४०६ नम्बरको मोटरसाइकल र विपरीत दिशामा रहेको प्रदेश १–०२–०४३प९२२६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले जनाएको छ ।
प्रहरीले दुर्घटनामा मोरङ पथरी शनिश्चरे नगरपालिका–५ का ३३ वर्षीय दीपक धिमाल र कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरूङको मृत्यु भएको जनाएको छ ।
धिमालको उर्लाबारीस्थित अरनिको अस्पताल र गुरूङको मदन भण्डारी ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
कानेपोखरी–४ का २६ वर्षीय अमृत लिम्बू र पथरी शनिश्चरे–५ का ३८ वर्षीय विष्णु धिमाल घाइते छन् । उनीहरुलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको छ ।